काठमाडौं, वाणिज्य बैंकहरूसँग दुई सय १० किलो सुन मौज्दात रहेको नेपाल बैंकर्स संघले बताएको छ। चालू आवको गत शुक्रबारसम्म कुल ६ सय किलो सुन आयात भएकोमा २१० किलो मौज्दात रहेको संघले बताए हो । नेपालमा सुनको आयातको जिम्मा वाणिज्य बैंकहरूलाई दिइएको छ। वाणिज्य बैंकहरूले हङकङ, स्विट्जरल्यान्ड, सिंगापुर, दुबई लगायतका मुलुकबाट सुन आयात गर्छन्।
सुनको मूल्यमा उकालो लागिरहेको र आर्थिक गतिविधि चलायमान बन्न नसक्दा मानिसहरूको क्रयशक्ति कमजोर बनेको छ। यसले सुनको माग बढ्न सकेको छैन। दसैँ–तिहारमा सुनको खपत बढ्ने गरे पनि यो वर्ष सुनचाँदी बजार सुनसान छ। तर, पनि राष्ट्र बैंकले सुन आयातको सीमा प्रतिदिन १० किलोबाट बढाएर दैनिक २० किलो पुर्याएको छ।
यद्यपि, यसले सुन बजारमा खासै प्रभाव नपर्ने व्यवसायीको भनाइ छ। तर, पछिल्ला ६ दिनयता सुनको मूल्यमा लगातार गिरावट आइरहेको छ । यस्तो गिरावटले निरन्तरता पाइरहे सुनको माग बढेर बजार चलायमान हुने व्यवसायीको अपेक्षा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार दुई रुपैयाँ कायम थियो । त्यसयता सुनको भाउ लगातार घटेर आइतबार १ लाख ८ हजार रुपैयाँ कायम भएको छ। यसबीच तोलामा ४ हजार दुई सय रुपैयाँले सुन सस्तिएको छ।