Tuesday, December 03, 2024

२०८१ मंसिर १८, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्यानको प्रश्नः भारतीय विदेश सचिव सवार विमानलाई कुन आधारमा सिमरामाथिको आकाशबाट भारत जान दियो?

भारतीय विदेश सचिव सवार विमानले सिमराको हवाई रुट नि...


क्यानको प्रश्नः भारतीय विदेश सचिव सवार विमानलाई कुन आधारमा सिमरामाथिको आकाशबाट भारत जान दियो?

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्री सवार भारतीय वायु सेनाको विमान सिमरामाथिको आकाशबाट भारत प्रवेश गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आपत्ति जनाएको छ ।

नेपाल र भारत सरकारको सहमतिअनुसार सिमरामाथिको आकाशबाट नेपालमा विमान प्रवेश गर्न मात्रै पाउँछन् । नेपाल सरकारले सिमराको आकाशबाट भारततर्फ विमान उडानका लागि अनुमति माग गरे पनि उसले मानेको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोही अनुसार भारतबाट आउने गरि मात्र हवाई रुट तय गरेको छ।

सोमबार भारतीय विदेश सचिव मिस्री नेपाल नागरिक उड्डयन प्राधिकरण र डिउटीमा रहेका एयर ट्राफिक कन्ट्रोलरलाई पूर्वजानकारी नदिई सिमरा माथिको आकाशबाट भारत प्रवेश गरेका हुन् । जसले गर्दा प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलरसँग भारतीय विदेश सचिव मिस्री सवार विमानलाई कुन आधारमा सिमरामाथिको आकाशबाट भारत जान दिएको भन्दै प्रश्न गरेको छ।

गल्फ ५९८ (भारतीय आकाशमाथि रहेको सेरा माइक रोमियो) हुँदै गल्फ ३३६ (सिमरा माथिको आकाश)बाट विमानहरु नेपाली भू-भागमा प्रवेश गर्ने गर्छन् । वान वे एराइभल रुट तय भएको उक्त क्षेत्रबाट भारतीय विदेश सचिव सवार विमानलाई भारततर्फ जान दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग चासो राखेको हो ।

‘दुईतर्फी रुट नभएको ठाउँमा गल्फ ३३६ (सिमरामाथिको आकाश)बाट भारतीय आकाशमाथि रहेको सेरा माइक रोमियोमा विदेश सचिव सवार विमानलाई कसरी जान दिइयो भन्ने चासो व्यवस्थापनले चाखेको छ,’ स्रोतले भन्यो, ‘सिमरा माथिको आकाशबाट नेपाल प्रवेश गरेका विमानहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गर्छन् । विमान अवतरणका लागि प्रयोग हुने रुटबाट मानलाग्दी हिँड्दा जोखिम हुन सक्छ ।’

नेपाली भू-भागबाट भारततर्फ जाने विमान लिमा ६२६ (नेपालगञ्ज हुँदै महेन्द्रनगरको आकाशमाथि) बाट भारतीय भूमिमा जाने गर्छन् । यस्तै, ब्राभो ३४५ (विराटनगर माथिको आकाश)बाट समेत नेपाली भू-भागबाट भारतीय भूमिमा विमानहरु जाने गर्छन् ।

भारतका विदेश सचिव मिस्री साउन २७ गते नेपाल भ्रमणमा आएका थिए । नेपाल भ्रमण सकेर सोमबार साँझ स्वदेश फर्किँदा उनी उडेको विमानले उडान सम्बन्धी नियम उल्घंन गरेको हो ।

सिमराको आकास माथिबाट उडेको विदेश सचिव सवार विमान लखनउ हुँदै नयाँ दिल्ली गएको थियो ।

सिमरा माथिको आकाशलाई दुईतर्फी रुट बनाइदिन नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दासमेत भारतले मानेको छैन । स्रोतका अनुसार महेन्द्रनगरबाट भारत प्रवेश गर्नुभन्दा सिमराबाट नजिक हुने भएकाले नेपालले सिमरालाई दुईतर्फी रुट बनाउन माग गरेको हो । तर, भारतले अहिलेसम्म मानेको छैन ।