काठमाडौँ । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थल प्रहरीले जनाएको छ ।
खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत गरिएको छ । कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । अहिले त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको विमानस्थल प्रशासनले जनाएको छ ।