काठमाडौं,श्रावण ३१ । गत आर्थिक वर्षमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले साढे ३६ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९,८० को चौंथो त्रैमासिक वित्तीय विवरण यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले ३६ करोड ४५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन, अघिल्लो आवको तुलनामा भने ५०.६८ प्रतिशतले कमी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७३ करोड ९२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन भने दोहोरो अंकले वृद्धि भएको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.१४ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ७१ लाख २९ हजार रुपैयाँ कायम भएको छ। कुल बीमा शुल्क आर्जन भने १६ अर्ब ४१ करोड ६९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या भने १७ लाख ५१ हजार ३६१ वटा छ । यस्तै, गत वर्ष कम्पनीले पुनर्बीमा कमिशनबाट ४ करोड ७९ लाख १३ हजार, बीमालेखको धितो कर्जाबाट ८२ करोड ४६ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
सो अवधिमा अभिकर्ता कमिशनका लागि १ अर्ब ५७ करोड २२ लाख १७ हजार रुपैयाँ, बीमितको स्वास्थ्य परिक्षणमा १ करोड ५३ लाख ५७ हजार रुपैयाँ खर्चिएको छ । गत वर्ष कम्पनीले ७ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ कुल दावी भुक्तानी दिएको छ । कम्पनीले सो अवधिमा ५१ हजार ६५८ वटा दावीमा भुक्तानी दिएको हो । समिक्षा अवधिमा कम्पनीले भुक्तानी हुन् बाँकी दावी रकम भने ८२ करोड ३ लाख १३ हजार रुपैयाँ देखिएको छ । कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले जगेडा तथा कोषमा भने ४० करोड ७९ लाख ६७ हजार रुपैयाँ राखेको छ । कम्पनीको जीवन बीमा कोषको आकार पनि १८.५९ प्रतिशतले बढेर ६० अर्ब २५ करोड १५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ४८ पैसा कायम रहेको छ ।