Wednesday, November 27, 2024

२०८१ मंसिर १२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हुस्सु र तुवाँलोले तुम्लिङटारमा तीन दिनदेखि उडान अवरुद्ध


हुस्सु र तुवाँलोले तुम्लिङटारमा तीन दिनदेखि उडान अवरुद्ध

काठमाडौं । पूर्वी हिमाली तथा पहाडी जिल्ला संखुवासभाको एक मात्रै तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सु र तुवाँलोका कारण तीन दिनदेखि उडान अवरुद्ध भएको छ । शनिबारदेखि हुस्सु र तुवाँलो नखुलेका कारण जहाज अवतरण हुन नसकेको हो । जहाज उडानका लागि पर्याप्त भिजिबिलिटी नभएपछि तीन दिनदेखि जहाज आउन नसकेको बुद्ध एयर तुम्लिङटारका कर्मचारी राजीव पोखरेलले बताए ।

उनले जहाज आउनका लागि कम्तीमा तीनदेखि पाँच हजार मिटर भिजिबिलिटी हुनुपर्ने बताउँदै बाक्लो हुस्सु र तुवाँलोले डाँडाकाँडा नै नदेखिने गरी ढाकिएको बताए । हुस्सु र तुवाँलोले विमानस्थलनजिकैको डाडाँकाडा ढाकेको छ । तीन दिनदेखि जहाज नआउँदा यात्रु अलपत्रमा परेका छन् । खाँदबारीदेखि धरान–विराटनगरसमेत आधाभन्दा बढी भाग कच्ची सडकको यात्रा गर्नुपर्छ ।

जिल्लामा ठूला अस्पताल र शैक्षिक संघ–संस्था नहुँदा धरान, विराटनगर र काठमाडौं नै धाउनुपर्ने बाध्यता कायमै छ भने तुम्लिङटार विमानस्थल संखुवासभाका साथै छिमेकी जिल्ला भोजपुरका षडानन्द नगरपालिका र साल्पा शिलिछो गाउँपालिकालगायत आधाभन्दा बढी भागका मानिसलाई तुम्लिङटारबाट नै विराटनगर र काठमाडौं जान नजिक पर्छ । तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका बुद्ध एयरको एटिआर ७२ सिटे जहाजले दैनिक उडान गर्दै आएको छ । यसअघि गुण एयरलाइन्स सञ्चालनमा रहे पनि अहिले बन्द छ । नेपाल वायु सेवा निगमले तुम्लिङटार उडान गर्न बन्द गरेको लामो समय भइसकेको छ ।