काठमाडौं । चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटक पटक काममा फर्कन आग्रह गरे पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको भन्दै ‘किन ठेक्का नतोड्ने’ भन्दै अन्तिम पत्र लेखेको हो ।
विसं २०७८ साउन २९ गते लिएको ठेक्काको हालसम्म काम नभएपछि कार्यालयले अन्तिम पटक सार्वजनिक रूपमा पत्रिकामा सूचना निकालेर काम नगर्नुको कारणसहित स्पष्टीकरण माग गरेको कार्यालयले जनाएको छ । उनका अनुसार विसं २०७८ साउन २९ गते भएको सम्झौता अनुसार बारेकोट गाउँपालिका–८ सागुतरा र नलगाड नगरपालिका–५ सिर्के जोड्ने मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगञ्ज–२ बाँकेलाई अन्तिम पत्र लेखेर स्पष्टीकरण सोधिएको छ ।
विसं २०७८ साउन २९ गते लगाएको छेडा–कचाली–जुम्ला खण्डअन्तर्गत छेडागाड नगरपालिकाको साल्म खोलामा मोटरेबल पुल निर्माण नगरेको भन्दै नेपाल मेगा–सिस्ने जेभी नेपालगञ्ज–२ बाँकेलाई पत्र काटिएको इन्जिनियर जैसीले जानकारी दिए । विसं २०७८ असोज १८ लागेको कालीमाटी–खाल्चौर–नेटिलेक खण्डको सक्ला खारी बयाले लिम्सा सडकको काम अमर–सिस्ने जेभी, नेपालगञ्ज–२, बाँकेलाई अन्तिम पटक काटी स्पष्टीकरण सोधिएको छ ।