काठमाडौं, असोज ९। दसैंलाई मध्य नजर गर्दै सरकारले काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने भएको छ। सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न खसी–बोका र च्यांग्रा ल्याउने भएको हो। विभिन्न स्थानबाट दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याइने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले बताइन्।
गत वर्षभन्दा यो वर्ष पाँच सय संख्या बढाएर खसी–बोका र च्यांग्रा ल्याउन लागिएको छ। गत वर्ष कोभिडले २५ सय खसी–बोका र च्यांग्रा ल्याएका थियौं, उनले भनिन्,यो वर्ष तीन हजार ल्याउन लागिएको छ। दसैंका लागि सो परिमाणको खसी–बोका र च्यांग्रा ल्याउन ८ करोड ३३ लाख बजेट छुट्याइएको छ। अहिले कम्पनीले खसी–बोका र च्यांग्रा खरिद गर्ने ठाउँहरूबारे अध्ययन गरिरहेको छ।
हामीले उपलब्ध हुने ठाउँ, मूल्यबारे अध्ययन गर्न सम्बन्धित कार्यालयलाई पनि पत्राचार गरेका छौं उनले भनिन्। बजार माग अनुसार खसी–बोका र च्यांग्राको संख्या थपघट हुन् सक्ने उनको भनाइ छ। हामीले बजार मूल्य नियन्त्रण गर्न ल्याउने हो, उनले भनिन्,बजारको माग अनुसार संख्या थपघट हुन्छ। कम्पनीले ल्याएको खसी–बोका र च्यांग्रा फुलपातीदेखि केन्द्रीय कार्यालयबाटै बेचिने छ।