काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबारदेखि आधिकारिक रुपमा सामाजिक सञ्चाल ‘टिकटक’ सूचीकरण भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका– २०८० को दफा ३ को उपदफा १ मा सामाजिक सञ्जाल प्लेटर्फम सञ्चालन गर्न चाहने, व्यक्ति, कम्पनी वा संस्थाले सो निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही निर्देशिकाको दफा ३ को उपदफा ४ मा अनुसूची १ बमोजिमको ढाँचामा सम्बन्धित व्यक्ति, कम्पनी वा संस्थाले अनुसूची १ मा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले टिकटक सूचीकरणको निर्णय गरेको थियो ।
दसैँ, तिहार पर्वका कारण केही ढिला भएको उल्लेख गर्दै मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव ममता बाँस्तोलाले मंगलबार टिकटक प्लेटर्फम विधिवत्रुपमा मन्त्रालयमा सूचीकरण गरिएको जानकारी दिए ।
सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाईसमेत यथाशीघ्र सुचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ ।