काठमाडौं । उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हुँदैछ ।
सोही कारण राति १० देखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत तथा ट्राफिकमा धेरै सुविधा हुने बुद्ध एयरको विश्वास छ ।
केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको पनि कम्पनीले जनाएको छ । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले छोट्याइएको उडान समय जाडो महिनाको रहेकाले उडान व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम ‘भिजिविलिटी’का कारण नियमित सञ्चालन प्रभावित हुने गरेका छन् ।