काठमाडौं । पर्वतरजिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । प्रहरीले सहकारीका अध्यक्ष ६४ वर्षीय नारायण श्रेष्ठलाई रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय पर्वत तथा प्रहरी वृत्त बालाजु काठमाण्डौको संयुक्त टोलीले पक्राउ गरेको हो ।
सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा उक्त सहकारीका सञ्चालकहरूले पाँच करोड ६४ लाख ५३ हजार तीन सय ७९ रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो ।
सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरामा उजुरी परेपछि यो सहकारीमाथि अनुसन्धान चलिरहेको छ । यही प्रकरणमा सहकारीका दुई जना पदाधिकारीहरू यसअघि नै थुनामा परिसकेका छन् ।
सहकारीका कोषाध्यक्ष ५९ वर्षीय दीर्घनारायण शर्मालाई गत कार्तिक १० गते प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै फलेवास–२ थापाठाना घर भएका २६ वर्षीय अनिलबहादुर थापा कार्तिक २६ मा नेपाल र छिमेकी मुलुक भारतको सिमानामा पर्ने झापाको मेचीनगर नगरपालिका– ६ काकडभित्ताबाट पक्राउ परेका थिए । उनीहरूलाई अदालत पेस गरिएकोमा पर्वत जिल्ला अदालतमा गत मङ्सिर सात गते भएको थुनछेक आदेशले दुवै जनालाई पुर्पक्षको लागि जिल्ला कारागार पर्वतमा चलान गरिसकेको छ ।
सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले यस प्रकरणमा अध्ययन सुरु गरेको थियो । सहकारी ऐन, २०७४ अन्तर्गतको सहकारी ठगी मुद्दामा अनुसन्धानको क्रममा चार सय पाँच जनाको तर्फबाट सञ्चालक तथा व्यवस्थापकहरू विरुद्ध किटानी जाहेरी परेको थियो ।