काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घ (सीएनआई) आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसमा केन्द्रित भई सरकारले काम गर्ने बताए ।
परिसङ्घको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने बताए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनको भनाइ थियो ।
विगत तीन वर्षदेखि उद्योग ३०-४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा सङ्कुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको अध्यक्ष अग्रवालले बताए । परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पुँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ । सो अवसरमा परिसङ्घका निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, रोहित गुप्तालगायतले मन्त्री पौडेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।