पर्वत । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–२३ भदौरे तामागीस्थित ठूलो भिरमा खोलिएको नयाँ ट्रयाकको शनिबार काम सकिएसँगै ट्रयाक खुलेको हो । ट्रयाक खुलेसँगै पर्वतको विहादी गाउँपालिकामा पर्ने विश्वकै ठूलो शालिग्राम शिला भएको स्थान सेतीवेणीसम्म सीधा यातायात सञ्चालन गर्न सकिने भएको छ ।
पोखराबाट–पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–उरामपोखरा–सेतीवेणी–रिडी पुग्ने सडक ५६ दशमलव २१८ किलोमिटर लामो छ । सडकको अधिकांश भागमा ट्रयाक खुलिसकेको छ भने केही भागमा स्थानीय सरकारले कालोपत्रसमेत गरेका छन् ।
पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशिला, सेतीवेणी हुँदै रिडीसम्मको सडकलाई वैकल्पिक राष्ट्रिय राजमार्गको रुपमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा समेत समेटिएको थियो । गत आवमा पनि सडक डिभिजन कार्यालय पोखरामार्फत रु दुई करोड बजेट विनियोजन भएर ट्रयाक खुलाउने काम भएको थियो ।