एजेन्सी । एक साता चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ । हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४ः५० पछि बजे भेट भएको हो ।
भेटमा दाहालले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट गरेकोमा सीको तारिफ गरेका थिए । सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रवार भेट गरेका थिए ।
दाहालले आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसँग पनि भेट गरेका छन् । भेटमा दुई पक्षको हित र खेलकुद बारेमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् ।
यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ ।
सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आइपुगेका छन् । त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० अर्थात असोज १३ गते नेपाल फर्कने कार्यक्रम छ ।