Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुग्यो


बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुग्यो

काठमाडौँ । बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित २२ जिल्लामा पछिल्लो विपदबाट ज्यान गुमाउनेको संख्या मंगलबार दिउँसोसम्म २ सय १९ पुगेको हो ।

विपद्‌बाट सबैभन्दा बढी मानवीय क्षति काभ्रे, ललितपुर र धादिङमा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काभ्रेमा ६५ जना, ललितपुरमा ४० र धादिङमा ३९ जनाले बाढी, पहिरो, डुबान र कटानजन्य प्रकोपमा परी ज्यान गुमाएका हुन् । काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुरमा ७, पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै भक्तपुर र सोलुखुम्बुमा ५—५ जना, सिन्धुलीमा ३ जना, झापा, धनकुटा, महोत्तरी, रौतहट र रुपन्देहीमा २—२ जना, उदयपुर, ओखलढुंगा, सप्तरी र रामेछापमा १–१ जनाको ज्यान गएको विपदसम्बन्धी प्रहरीको पछिल्लो तथ्यांकमा उल्लेख छ । विपद्‌मा परी २७ जना अझै बेपत्ता र १ सय ५६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार विपद्‌मा परेर काठमाडौंमा २, ललितपुरमा १०, पाँचथरमा ४, मोरङमा १, सर्लाहीमा १, पर्सामा १, काभ्रेमा ६ र सिन्धुपाल्चोकमा २ जना बेपत्ता छन् । विपदमा फसेका १२ हजार ५ सय ८४ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीय लगायतको सहयोगमा उद्धार गरिएको छ । पछिल्लो भारी वर्षापछि निम्तिएको विपदबाट गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भने मानवीय क्षति भएन ।

बाँकी जिल्लामा जनधनको क्षति हुँदा विपद पछिको राहत तथा पुनःस्थापनामा पनि समस्या देखिएको छ । सरकारले विपद्‌जन्य खोज, उद्धार तथा व्यवस्थापनका लागि चाहिने बन्दोबस्ती र उद्धारकार्यलाई प्रभावकारी नबनाउँदा कतिपय स्थानमा अकल्पनीय जनधनको क्षति हुन पुगेको छ ।