काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विमानस्थलको सुरक्षामाथि चासो व्यक्त गरेका छन् । राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफलमा प्रधानमन्त्रीले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।
बैठकमा प्रधानमन्त्रीले भने,‘हामी गम्भीर विषयमा छलफल गरिरहेका छौँ । हामीले स्थितिको गम्भीर समीक्षा गरेर अगाडि कसरी बढ्ने, विगतका कमीकमजोरी कसरी सच्याउने भन्नेतिर हाम्रो ध्यान जानुपर्छ । नकारात्मक चीजलाई शिक्षाका रूपमा लिएर अगाडि बढाउनुपर्ने बताए । सोच, संरचना, कार्यविभाजन र कार्यशैलीमा सुधार गर्नेतिर जोड गर्नुपर्छ । विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा प्रबन्धबारे हामीले गम्भीर समीक्षा र अध्ययन गर्ने बेला भएको छ’’ छ ।
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अपराधमा नयाँ नयाँ प्रविधि र तौरतरिकाको प्रयोग भएको बताउँदै देशको समग्र सुरक्षा अवस्था र चुनौतीबारे गम्भीर अध्ययन गरी त्यसका आधारमा नयाँ सुरक्षा व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै अपराधको सञ्जाल तोड्न सरकार कठोर रूपमा उभिने बताए ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन राज्यका निकायहरूबीच अन्तरनिकाय समन्वय थप चुस्त बनाउनुपर्नेमा जोड दिनुहुँदै राज्यका सबै निकायमा दण्ड र पुरस्कारको व्यवस्था गरेर जानुपर्ने बताए । पछिल्लो सुन तस्करीको उच्चस्तरीय छानविन समितिको माग गर्दै प्रतिपक्षी दल नेकपा एमाले लगातार आठ पटक संसद अबरुद्ध गरेपछि प्रधानमन्त्रीले छलफललाई तिव्र बनाएका छन् ।
छलफलमा गृहसचिव दिनेश भट्टराईले त्रिभुवन विमानस्थल लगायत देशभरिका विमानस्थलको अवस्था, सुरक्षा व्यवस्थापन, विमानस्थलमा कार्यरत कार्यालय र निकायहरूको कार्यजिम्मेवारी एवम् वर्तमान अवस्था लगायत सुरक्षा चुनौती र सरकारले निगरानी राख्नुपर्ने विषयहरूमा आफ्नो प्रस्तुति राख्दै देशको समग्र सुरक्षा स्थिति सामान्य अवस्थामा रहेको ब्रिफिङ गरेका थिए ।