एजेन्सी । चर्चित आर्टिसियल इन्टेलिजेन्स प्लाटफर्म, च्याटजीपीटी निर्माता ओपनएआई कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ साम अल्टम्यान पदबाट बर्खास्त भएका छन् । ओपेनएआईको बोर्ड बैठकले अल्टम्यान बोर्ड सदस्यहरूसँग प्रभावकारी सञ्चार सम्बन्ध राख्न असफल भएको भन्दै उनलाई सो पदबाट हटाएको जनाएको छ । बोर्डले बैठकपछि जारी गरेको एक वक्त्तव्यमा अल्टम्यानलाई उनको योगदानको लागि कृतज्ञ रहेको तर हालको लागि नयाँ नेतृत्वको आवश्यकता महसुस भएकोले यो निर्णय लिइएको दाबी गरिएको छ ।
‘ओपनएआईलाई नेतृत्व गरिरहने उनको क्षमताप्रति बोर्डलाई भरोसा नरहेको देखिन्छ,’ कम्पनीले भनेको छ, ‘पछिल्लो समयमा गरिएको मूल्यांकनमा उनले बोर्ड सदस्यहरूसँग आवश्यक सञ्चार नगरेको र बोर्डलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नबाटसमेत रोक्न खोजेको देखिन्छ ।’
अल्टम्यानले सीईओका रूपमा कम्पनीमा रहँदाको क्षण प्रिय रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । ‘यो समय व्यक्त्तीगत रूपमा मेरो लागि रुपान्तरणकारी थियो र लाग्छ विश्वका लागि पनि यस्तै थियो,’ उनले लेखेका छन्, ‘प्रतिभाशाली व्यक्त्तिहरूसँग काम गर्न मलाई सबैभन्दा बढी मनपर्यो । यसपछि के भन्नेबारे आगामी दिनमा बताउनेछु ।’
अल्टम्यानलाई निष्कासन गरिएको केही समयमै ओपनएआईका अध्यक्ष तथा सहसंस्थापक ग्रेग ब्रोक्म्यानले पनि कम्पनीसँगको आफ्नो जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । एक्समा पोस्ट गरेको भनाइमा उनले आफ्नो अपार्टमेन्टबाट ८ वर्षअघि शुरु भएको ओपेनएआईले हासिल गरेको उचाइमा आफू गौरवान्वित रहेको उल्लेख गरेका छन् । कम्पनीकी प्रमुख प्रविधि अधिकृत मीरा मुरतीले हालका लागि निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्नेछिन् भने कम्पनीले अल्टम्यानपछिको कम्पनी प्रमुख को हुने भन्ने खोजी जारी राख्ने जनाएको छ ।