Friday, June 20, 2025

२०८२ असार ६, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गरे सुरक्षाको माग


बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गरे सुरक्षाको  माग

काठमाडौं। बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा आवश्कता बढेको भन्दै यस क्षेत्रमा चार संस्थाहरूले सुरक्षा माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै सुरक्षा निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, इटहरी, सुनसरी तथा बिर्तामोड, झापास्थित केही बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूका शाखामा केही व्यक्तिहरूले शाखा सञ्चालनमा अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट वञ्चित गरेकोमा घोर निन्दा गर्दछौँ ।

ऋण तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त रहेको भन्दै अराजक गतिविधि गर्नेलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् । आगामी दिनमा यस्ता गतिविधि भएको खण्डमा सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । भूकम्पपछिको समय होस् वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितिमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक, वित्तीय तथा लघुवित्त क्षेत्रका कर्मचारी अहोरात्र आफ्ना ग्राहकलाई सेवा पुर्‍याउन खटिएको विज्ञप्तिमा उल्लेख छ ।

मुलुकले समेत अत्यावश्यक सेवाका रूपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्बाध रूपमा सञ्चालन गर्न र सेवा पुर्‍याउन कुनै पनि तत्वहरूले बाधा पुर्‍याएको खण्डमा सो गैरकानुनी हुने सर्वविदितै छ, विज्ञप्तिमा भनिएको छ, ग्राहकले सेवा लिन आउँदा कुनै पनि अवरोध गरिएमा वा शाखा सञ्चालनमा कुनै बाधा पुर्‍याइएको खण्डमा सोउपर सुरक्षा निकायले आवश्यक कदम लिनेछ भन्नेमा हामी विश्वस्त भएको बताए।