काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुपर्ने बताएका छन् । चैतन्य एकेडेमीले शुक्रबार आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हारजीत हुन्छ । यी सबै स्वभाविक प्रक्रिया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ ।’
‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको बताए । उनले सेयर बजारमा पनि सुधार आउँछ । विदेशी पर्यटक मात्र होइन, आन्तरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्छ, उनले भने । उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन मन्त्री डा. महतले आग्रह गरे ।
मन्त्री डा. महतले भने, ‘नकरात्मक माहोल ज्यादा छ, यो नकरात्मक कुरा सामाजिक सञ्जालमार्फत् संसारभरि छिटो फैलिन्छ । गालीका भाषा बिक्छन् । सकारात्मक कुरा पनि देशमा भइरहेका छन् । चुपचाप मानिसहरु काम गरिरहेका छन् । यो कुरो चाहिँ छोपिन्छ । शासन सत्तामा बस्नेहरु सामाजिक सञ्जालको आक्रमणको केन्द्रविन्द्रमा पर्छन् ।’
‘यो परिवर्तन ल्याउन कठिन छ, धैर्यता चाहिन्छ, धेरै मेहनत गर्नुपर्छ, समय चाहिन्छ र निरन्तर काम गरिराख्नुपर्छ । आजको भोलि नतिजा आउँदैन’ मन्त्री महतले भन्नुभयो, ‘तत्काल नतिजा खोजी भइरहेको अवस्थामा त्यो सम्भव छैन । सबैलाई थाहा छ, भन्न सजिलो छ । गर्न कठिन छ । त्यसकारण सकरात्मक कुरा बिकाउन गाह्रो छ ।’