काठमाडौं । निर्माण व्यवसायीहरूले काम गरेवापत पाउनुपर्ने बक्यौता रकमको भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा आयोजित समितिको बैठकमा सांसदहरुले निर्माण व्यवसायीको भुक्तानी रोकिएको सम्बन्धमा ढिलाई हुनुको कारणसहित प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो । त्यस्तै ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ ।
समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुंगोमा पुगेको बताए । उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिक मन्त्रालयको मात्र ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकमको भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायी महासंघको अगुवाईमा व्यवसायीहरु आन्दोलित बनेका थिए ।