काठमाडौं, भदौ ८ । हिमालयन बैंक लिमिटेडले काठमाडौंको महाराजगन्जमा रहेको कान्ति बाल अस्पताललाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो । बैंकले प्रदान गरेको उक्त रकम अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यसवरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने बताइएको छ ।
अस्पतालमा आयोजित कार्यक्रममा उक्त रकम प्रदान गर्ने सहमति भएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई सहयोगको प्रतिबद्धतापत्र प्रदान गरेको बताइको छ । उक्त अवसरमा अस्पतालका निर्देशक डा. युवानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडा, विजयमान नकर्मीलगायतको उपस्थिति थियो ।
प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरूमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अतिआवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताएका छन्।