वीरगञ्ज । औद्योगिक नगरी बारा र पर्सामा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत आपूर्ति हुँदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत झयाप्प–झ्याप्प जाने समस्या देखिएको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युत् माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताए ।
प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत उपलब्ध गराउँदै आएको बताए । बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युतको माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनको भनाइ छ । प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ ।