कैलाली । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले मनसुन सक्रिय भएपछि ‘अग्रिम’ नगद सहायता वितरण गरेका छन् । कृत्रिम घटना अभ्याससँगै सङ्कटासन्न परिवारलाई ‘अग्रिम’ नगद सहायता वितरण गरिएको हो । कृत्रिम घटना अभ्यासमा पालिकाले तयार गरेको विपद् पूर्वकार्य ढाँचा र विपद् पूर्वसूचना संयन्त्रलाई आधार मानेर पूर्वतयारीका आठवटा चरणमा अभ्यास गरिएको हो । कृत्रिम घटना अभ्यासमा समुदायलाई सूचना प्रवाह, नगद सहायता, नाला सरसफाइलगायत काम भएका छन् ।
बाढी आउनुअघि सुरक्षित रहन सहयोग गर्न नगद सहायता सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने खाता प्रयोग गरेर उपलब्ध गराइएको हो । नमूना अभ्यासमा सातदिने पूर्वानुमान र तीनदिने पूर्वानुमानसम्बन्धी सूचनाअनुसार छनोट गरिएको समुदायमा सूचना प्रवाह तथा एसएमएस गरिएको थियो ।
विपद् शाखा प्रमुख चौधरीले घटना अभ्यास गर्दा समुदाय सचेत रहेका, जनप्रतिनिधि पनि चनाखो रहेको पाइएको बताए । नमूना अभ्यास गर्दा विपद्को तयारी र सुरक्षित रहन र पालिकाले कसरी काम गर्ने भनी सिकाइ भएको कार्यपालिका सदस्य दीपक निसानी बताए । सामाजिक सुरक्षा भत्तामार्फत नगद सहायता वितरण गर्दा सहज भएको पञ्जीकरण उपशाखा प्रमुख चेतबहादुर बोहराले बताए ।
कैलालीका यी पालिका हरेक वर्ष बाढीजन्य विपद्को जोखिममा पर्ने भएकाले पूर्वतयारीका लागि घटना अभ्यासले सिकाइ हुने गर्दछ । बाढीको समयमा मानिसले समयमै सूचना पाएमा क्षति हुनबाट जोगिने भएकाले पूर्वतयारीका लागि सूचना समयमै पाएमा धनजनको क्षति हुनबाट जोगाउन सकिने वडा नं ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए ।