काठमाडौं । प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । अख्तियारले भिजिट भिसा प्रकरणमा अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु गरेकाले त्यसको नैतिक जिम्मेवारी गृहमन्त्री लेखकले लिनुपर्ने माओवादीको निष्कर्ष छ ।
माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले भिजिट भिसाको सेटिङले मुलुकको साखमा आँच आएको भन्दै नैतिकताका आधारमा गृहमन्त्री लेखकले राजीनामा दिन संसद्मा दबाब दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दलको हैसियतले भिजिट भिसा प्रकरणमा विपक्षी दलसँग छलफल गरी मंगलबार बस्ने संसद्को बैठकमा प्रस्तुत हुने निर्णय गरेको छ ।
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्मा प्रस्तुत हुने विषय तय हुन बाँकी रहेको बताए । आगामी आर्थिक वर्षका बजेट ल्याउने दिन जेठ १५ अघि विपक्षले भिजिट भिसा प्रकरणमा सरकारमाथि दबाब सिर्जना गर्ने तयारी गरेका छन् । माओवादीको पहलमा विपक्षीको बैठक गर्ने तयारी छ ।
भिसा प्रकरणमा विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईमाथि अख्तियारले अनुसन्धान सुरु गरकोेछ । मानव तस्करको सेटिङमा भिजिट भिसामा असुली धन्दा चलाएको प्रकरणमा विमानस्थल अध्यागमन प्रमुख भट्टराईसहित गिरोहमा काम गर्ने तीन जनालाई अख्तियारले बुधबार पक्राउ गरेको थियो । चारै जनाबाट अख्तियारले मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएर छ । आरोपितलाई भने तारेखमा छाडेको छ ।