काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्की र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेका हुन् ।
गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । राणा परिवारसँगको नाता उनले ललिता निवासको जग्गा हत्याउने क्रममा पर्दा पछाडिबाट सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले बताए ।
निर्वाचन आयोगका पूर्व आयुक्तसमेत रहेका सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा रहेको श्रोतको दाबी छ ।
त्यस्तै, ललिता निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोतका पूर्व खरिदार गोपाल कार्कीलाई पनि प्रहरीले पक्राउ गरेका छन् । उनलाई प्रहरीले रातोपुलबाट पक्राउ गरेको हो । उनी जागिरबाट अवकाश भएको २५ वर्ष भइसकेको सीआईबी स्रोतले जनाएको छ ।
सोही प्रकरणमा अहिलेसम्म सात जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव भुपेन्द्रमणि केसी, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, गोपाल कार्की र तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह छन् ।