Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वर्षाले जनजिवन प्रभावित, आधा दर्जन मानिस वेपत्ता


वर्षाले जनजिवन प्रभावित, आधा दर्जन मानिस वेपत्ता

काठमाडौं, २३ साउन । लगातारको बर्षापछि मुलकको जनजिवन प्रभावित भएको छ । कयौं स्थानमा पहिरो गएको छ, भने आधा दर्जन मानिस वेपत्ता भएका छन् । मकवानपुरको वाग्मती गाउँपालिका–५ भोर्लेनीमा पहिरोले घर बगाउँदा ५ जना बेपत्ता भएका छन् । भोर्लेनीका एक घर मंगलबार राति पहिरोले बगाउँदा ५ जना बेपत्ता भएका हुन् । वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसार राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित वाग्मती नदीमा बगेका हुन् ।

स्थानीयले एक जनाको उद्धार गरी उपचारका लागि पठाएका छन् । बाँकीको खोजी भइरहेको वडाध्यक्ष व्लोनले बताए । घरमा सुतिरहेका धारापानीका अक्कलबहादुर स्याङ्तान, उनकी पत्नी शान्तिमाया, छोरी शिला, ज्वाइँ जीवन पहरी र दुई जना नातीनातिना रहेका थिए । धारपानीका स्थानीयले शान्तिमायाको भने उद्धार गर्न सफल भएका हुन् । पहिरो गएको स्थानमा एक घर मात्रै रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।
यसैबीच, बाढीपहिरोका कारण हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने दुई वटा सडकमार्ग सोमबार बेलुकादेखि अवरुद्ध भएका छन् । कान्तिलोकपथक सडक खण्डको बकैया गाउँपालिका—११ लामराङमा पहिरो गएकाले सोमबार बेलुका ८ बजेदेखि सडक अवरुद्ध भएको छ । सडक माथिवाट खसेको पहिरोसहित ठूलो ढुंगा पन्छाउन नसकेकाले मंगलबार बिहानसम्म पनि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको वैकल्पिक हेटौंडा—भैसे, भीमफेदी, कुलेखानी फाखेल काठमाडौं सडकमार्गको भीमफेदी गाउँपालिका—२ को ज्यालाटारमा पहिरो गएकाले सडक सोमबार बेलुका देखि नै अवरुद्ध छ । उक्त स्थानमा ठूलो पहिरो खसेको छ । मंगलबार बिहानदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरी जनाएको छ । हेटौंडाबाट राजधानी जाने सवारी साधनहरु त्रिभुवन राजपथ भएर गइरहेका छन् । यस क्षेत्रमा सोमवारदेखि वर्षा भइरहेको छ ।

यता, लगातार वर्षा भएका कारण सडक आडको पहाडी थुम्काबाट लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक मंगलबार बिहानैदेखि अवरूद्ध छ । पहिरो सफा गरेर बाटो खुलाउन कम्तिमा तीन घन्टा लाग्ने भरतपुरमा रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आज बिहान सवा पाँच बजेतिर लेदोसहितको पहिरो खसेको जानकारी दिए ।

अन्यत्र पनि स–साना पहिरोहरू गएको डिभिजन सडक कार्यालयले जनाएको छ । नारायणगढ मुग्लिन सडक संघीय राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्व र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी मालबाहक ट्रक, यात्रु बस र साना ठूला अन्य निजी गााडी ओहरदोहर गर्दछन् । तर बर्खा लागेसँगै पहिरो खसेर लामो समय बाटो अवरूद्ध हुने समस्या छ ।

त्यस्तै, लगातारको वर्षापछि कमलानदीमा आएको बाढीले खतराको तह पार गरेको छ । जलमापन केन्द्र रानीवासका अनुसार तीन मिटर सम्मको तहलाई खतरा मानिएकोमा अहिले तीन मिटर ३० सेन्टिमिटर पुगेको छ । सर्तकता तह भन्दा ३० सेन्टिमिटर बढी भएको र अझै त्यो बढिरहेको जलमापन केन्द्रकी सीता पौडेलले जानकारी दिइन् । उता, पाल्पाको सिद्धबाबा सुरुङमार्ग क्षेत्रको उत्तरतर्फको प्रवेश विन्दुमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड (रामापिथेकसपार्क) क्षेत्रमा लेदोसहित ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ ।