काठमाडौं २८ जेठ । खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन् ।
पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले बताए । जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताए । सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन् । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उनको भनाइ छ ।
जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ । करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ । जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झण्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि वर्षा नहुँदा म्याग्दीमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् ।