Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिपक्षीको अबरोधका कारण राष्ट्रिय सभाको बैठक लगातार चौथो पटक अवरुद्ध, प्रधानमन्त्रीको राजीनामा अन्तिम विकल्पःएमाले [भिडिओ सहित]


प्रतिपक्षीको अबरोधका कारण राष्ट्रिय सभाको बैठक लगातार चौथो पटक अवरुद्ध, प्रधानमन्त्रीको राजीनामा अन्तिम विकल्पःएमाले [भिडिओ सहित]

काठमाडौं,२४ असार ।  प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधले लगातार चौथोपटक राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आइतबार साढे ११ बजेपछि सुरु भएको बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्को दुवै सदनमा अवरोध गरिरहेको छ । एमालेले प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिनुपर्ने माग राखेर संसद् अवरोध गर्दै आएको हो । एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक लगातार चौथोपटक अवरुद्ध भएको हो । बैठकको सुरुमा नै एमाले सांसद भगवती न्यौपानेले आइतबारको बैठकमा प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको बताइन् ।

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नदिने उनले बताइन् । प्रधानमन्त्री भारत गएर राष्ट्रघाती सहमति गरेको पनि आरोप पनि उनको थियो । ’भारतमा जाँदै गर्दा पनि उहाँले धेरै राष्ट्रघाती सहमति गरेर आउनुभएको छ,’ उनले भनिन्, ’अब संसद्लाई जवाफ दिन आवश्यक छैन । तपाईंको कुरा प्रष्टसँग आइसकेको छ । प्रष्टसँग तपाईंले बोलेको आएन र ? प्रितम सिंहले मलाई पधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो धेरै पटक दिल्ली जानुभयो भनेर तपाईंले भनेको होइन र ?’ मुलुकको स्वाधिनताको विषय भएको भन्दै न्यौपानेले भनिन्, ’यो स्वाधिनता, राष्ट्रियताको विषय हो । संसद्मा आएर जवाफ दिन र प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न । एउटै मात्र विकल्प बहिर्गमन हो ।’ नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन् । 

राष्ट्रिय सभाको अवरोध एमालेसँगै राष्ट्रपतिबाट मनोनित सांसद विमला पौड्याल राई पनि संलग्न भएकी छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अवरोध हटाउनका लागि राष्ट्रिय सभामा रहेका दलका सचेतकहरूसँग छलफल गरेका थिए ।

बैठक स्थगित भएको घोषणा गर्नुअघि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको गरिमा कामय गर्न आग्रह गरेका थिए । ‘४ दिनदेखि संसद् अवरुद्ध हुँदै आएको छ । संसद् सुचारु गर्न सम्माननीय प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निकास निकाल्न म आह्वान गर्दछु,’ उनले भने, ’आज छलफलका लागि निर्धारण गरिएका विनियोजन विधेयक शीर्षकहरूमाथि असार २५ गतेको बैठकमा छलफल हुने व्यहोरा जानकारी गराउँछु । साथै सम्बन्धित मन्त्रीहरुबाट जवाफ दिनका लागि पूर्वनिर्धारित कार्यतालिकामा पुनः परिमार्जन गरी यही असार २६ गतेको दिन निर्धारण गरेको छु ।’

राष्ट्रिय सभामा आर्थिक २०८०|८१ को विनियोजन विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो । एमालेको निरन्तरको अवरोधले विनियोजन विधेयकका विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफल अवरुद्ध हुँदै आएको छ । त्यस्तै, संघीय संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र संसद्को ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिरहेका छन् ।