काठमाडौं । बिमा क्षेत्रको भूमिका महत्वपूर्ण रहने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । दिगो विकासको लक्ष्यलाई सुनिश्चितता गर्नका लागि नेपाल बिमा प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एसियाली बिमा सम्मेलनको उद्घाटन गर्दै बिमा क्षेत्रको महत्वका बारेमा बताएका हुन् । प्राकृतिक प्रकोप, आर्थिक उतारचढाव, साइबर चुनौती लगायतका नयाँ,नयाँ जोखिमहरूले बिमा क्षेत्रमा मात्र नभई व्यक्तिगत, सामाजिक र व्यावसायिक सुरक्षामा समेत प्रभाव पारेको अर्थमन्त्री महतले बताएका छन् ।
बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल सरकारले वित्तीय नीतिमा बिमालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै कृषि बिमाको प्रवद्रधन, लघुबिमालाई प्रोत्साहन र बिमाको पहुँच वृद्धिका लागि समावेशी बिमाजस्ता नयाँ नीतिहरू कार्यान्वयनमा ल्याएको बताए।
बिमा क्षेत्रका नियामकले नयाँ प्रविधिको प्रयोग, बिमितको संरक्षण र बजारमा स्वच्छ अभ्यासको प्रवद्र्धन तथा बिमाको पहुँच वृद्धि गर्ने किसिमले जोखिम व्यवस्थापन रणनीतिहरूको प्रभावकारी ढाँचा विकास गर्नुपर्ने उनको धारणा थियो । आज सम्म चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, कम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, थाइल्यान्ड, मकाओ, जोर्डन, मलेसिया, फिलिपिन्स, सिंगापुर, जापानलगायत २० देशको सहभागिता छ ।
ती देशबाट बिमा क्षेत्रका नियामक निकायका पदाधिकारी, बिमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बिमा कम्पनी, पुनर्बिमा कम्पनी, बिमा सर्भेयर, बिमा अभिकर्ता, बिमांकी, बिमा ब्रोकर, बिमाविज्ञ र विभिन्न बिमा सेवाप्रदायक संघ–संस्थाका पदाधिकारीको सहभागिता रहेको छ ।