काठमाडौं, श्रावण १५ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएको छ । सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले यस्तो बताएको हो । उनले नेपालमा पछिल्लो समय इकमर्स, डिजिटल कारोबार वृद्धि हुँदै गएको बताए ।
गभर्नर अधिकारीले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको जानकारी दिए । उनले नेपालमा फिनटेक कम्पनी, अनलाइन व्यापार, कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्स लगायतमा अनलाइन सेवा विस्तार भइरहेको बताए ।
गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिनेगरी योजना बनाएर काम गरिरहेको जानकारी दिए । उनले मुलुकको जिडिपीमा सूचना प्रविधिको क्षेत्रले २ प्रतिशत योगदान पुर्याएको जिकिर गरे । उनले नेपालका लागि रोजगारी सिर्जनाको विषयमात्र नभएर सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रुपमा विकास हुने सम्भावना देखिएको धारणा व्यक्त गरे ।
गभर्नर अधिकारीले नेपाल सरकार आफैँले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर आन्तरिक बजार लक्षित गतिविधि पनि बढ्दै बताए । उनले नेपाल राष्ट्र बैंकको सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए ।