काठमाडौं, श्रावण १४ । नेपाल कृषि अनुसन्धान परिषद् नार्क मुसुरो उत्पादनको उन्नत प्रविधि विकास गर्न र युएसएड अन्तर्गत नेपालमा मुसुरो बाली प्रवर्धन कार्यक्रमका प्रतिनिधिबिच छलफल भएको छ । खुमलटारस्थित नार्कमा दुई पक्षबिच मुसुरोको उत्पादन वृद्धि र व्यवसायीकरणबारे छलफल भएको नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले बताए ।
युएसएडको नेपालमा मुसुरो बाली प्रवर्धन कार्यक्रमको परियोजनाका उपनिर्देशक जोन मेडेनलोपको नेतृत्वमा रहेको टोलीसँग भएको छलफल अनुसार यो कार्यक्रम लागु भयो भने मुसुरो उत्पादनका लागि नयाँ प्रविधिको विकास गर्नुका साथै उत्पादनमा पनि वृद्धि हुने विश्वास आफूले लिएको उनले बताए । मुसुरो बालीमा गहन अनुसन्धान गरी उत्पादनशील जातको विकास, स्रोत बिउ उत्पादन तथा कृषक र प्राविधिकको क्षमता अभिवृद्धिमा युएसएडको सहयोग रहने नार्कले बताएको छ ।
नेपाललाई ३ लाख ६ हजार मेट्रिक टन मुसुरो आवश्यकता छ तर वार्षिक दुई लाख मेट्रिक टन मात्र उत्पादन हुने गरेको छ । नयाँ प्रविधि र नयाँ जातका बिउ प्रयोगमा ल्याए नेपालमा अत्यधिक मात्रामा मसुरो उत्पादन हुने विश्वास नार्कले लिएको छ । नेपालमा मुसुरो बाली प्रवर्धन कार्यक्रम लागु भएपछि मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मुसुरो उत्पादन वृद्धि हुने विश्वास आफूले लिएको कार्यकारी निर्देशक भट्टराईले बताए ।
त्यस्तै नार्क र जापानको हकेन कम्पनीका प्रतिनिधिबिच नेपालमा सिताके च्याउको उत्पादन वृद्धि र व्यवसायीकरणका बारेमा पनि छलफल भएको उनले बताए । हकेन कम्पनीका उपप्रमुख सुमजो आइयुसावाका बिचमा सिताके च्याउ उत्पादन वृद्धि र व्यवसायीकरणका बारेमा छलफल भएको हो ।
कम्पनीले सिताके च्याउका नयाँ जात राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रमार्फत परीक्षण गरी उपयुक्त जातको व्यवसायीकरणमा सहयोग गर्ने, सिताके च्याउका उच्च तापक्रम सहन सक्ने जात छनोट गरी तराईमा समेत विस्तार गरिने उनले बताए।

 
                             
                                     
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
	                                         
                     
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    