Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अनररी कन्सुलर कर्प्सको नयाँ डिनमा विष्णुकुमार अग्रवाल


अनररी कन्सुलर कर्प्सको नयाँ डिनमा विष्णुकुमार अग्रवाल

काठमाडौं । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन)को १६ औं साधारणसभाले विष्णुकुमार अग्रवाललाई नयाँ डिनका रुपमा नियुक्त गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो ।

भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । साधारणसभा कार्यक्रममा उपराष्ट्रपति रामसाहयप्रसाद यादवले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्‍याएको योगदानको प्रसंसा गरे ।

नेपालमा लगानीका सम्भावनायुक्त क्षेत्रहरु धेरै रहेको र विदेशी लगानी आकर्षित गर्न विभिन्न राष्ट्रसाग समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ। परराष्ट्रमन्त्री एनपी साउदले एचसीसीएनका सदस्य मुलुकहरुलाई नेपाल भ्रमणका लागि मात्र नभई लगानीको पनि राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे । उनले एचसीसीएनका सदस्यहरुबाट प्रदान गर्ने सेवालाई सहज गर्न पहल गर्ने पनि बताए ।

कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

एचसीसीएनका पूर्व डिनहरु गजेन्द्रबहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनय मान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्त राज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्र कुमार खेतान (पोर्चुगल), आङ छिरिङ शेर्पा (बेल्जियम), प्रदिप कुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड)लाई उपराष्ट्रपति यादवले सम्मान गरेका थिए ।