Sunday, October 12, 2025

२०८२ आश्विन २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न


तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । कोशी प्रदेशको ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौँको नक्सालस्थित सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो। सम्झौतामा कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्।

कम्पनीका प्रबन्ध निर्देशक ई।सुदीपकुमार चौधरीका अनुसार, आयोजनाको लीड बैंक सिद्धार्थ बैंक लिमिटेड र को–लीड बैंक माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन्। यससँगै कृषि विकास बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगायतका बैंक तथा वित्तीय संस्थाहरू सहवित्तीयकरणमा सहभागी छन्।

आयोजनाको कुल अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये ७५ प्रतिशत रकम दीर्घकालीन आयोजना ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ भने २५ प्रतिशत स्वपूँजी प्रवर्द्धकहरूले लगानी गर्नेछन्।

स्पार्क हाइड्रोइलेक्ट्रिकले यसअघि नै २०७७ असोज २५ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पत्र प्राप्त गरिसकेको छ। त्यस्तै, पर्यावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०७५ असार ३१ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता २०८० असोज २४ गते सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। हाल आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति भइसकेको र निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक चौधरीले बताए। उनका अनुसार, आयोजना ३ वर्ष ६ महिनाभित्र सम्पन्न गरी २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ।

वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बू, प्रबन्ध निर्देशक चौधरी, सञ्चालकहरू, लगानीकर्ता बैंकका प्रतिनिधि, तथा विभिन्न बैंक–वित्तीय संस्थाका उच्च पदस्थ अधिकृतहरूको उपस्थिति रहेको थियो।