मस्को । रुसले युक्रेनी शहर ओडेसामा दोस्रो पटक खाद्यान्न गोदाम र निर्यात प्रबन्धमा मिसाइल र ड्रोन आक्रमण गरेको छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा राष्ट्रहरूले आफ्नो उद्देश्यका लागि ब्ल्याक सी अनाज सम्झौतालाई उल्ट्याएको आरोप लगाएका छन् । तर, आफ्ना सबै शर्त पूरा भएमा तत्कालै सम्झौतामा फर्किने उनले बताए । उनले मस्कोको अडान दोहो¥याए र हामीले पहिले सहमति गरेका पाँच शर्त पूरा भएमा हामी तुरुन्तै सम्झौतामा फर्कनेसमेत जनाएका छन् ।
गत सोमबार रुसले युक्रेनसँगको खाद्यान्न निर्यात सम्झौतालाई पछ्याउँदैन भन्ने घोषणा गर्दै खारेज गरेको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पछिल्लो आक्रमणलाई रुसले गरेको आतंककारी कार्य भनेका छन्, जसले अन्न निर्यातका लागि पूर्वाधार नष्ट गरेको छ । युक्रेनले अब रोमानियामा जहाज पठाउन अस्थायी समुद्री मार्ग तयार गर्ने बताएको छ । यसमार्फत खाद्यान्न निर्यात हुनेछ ।
विगत दुई दिनमा खाद्यान्न गोदाम, औद्योगिक एकाइ, अनाज टर्मिनल, सपिङ मल, आवासीय तथा कार्यालय भवन र कारलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ । रुसले ब्लाक सीमा सञ्चालित सबै प्रकारका पानीजहाजलाई युक्रेनको युद्धपोत मानिने र आक्रमण गर्ने बताएको छ । रुस बाहेक अन्य कुनै पनि देशका जहाजलाई ब्लाक सिमा जान अनुमति छैन ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले खाद्य सम्झौताबाट रुस बाहिरिँदा विश्वमा खाद्यान्न असुरक्षा बढ्ने, खाद्यान्नको मूल्य बढ्ने र गरिब देशलाई कठिन हुने बताएको छ ।