काठमाडौं, २२ असार । शिव शिखर बहुउद्देश्यीय सहकारी संकटग्रस्त रहेको संस्थाको बुटवलस्थित कार्यालयका घरधनीले खाली गराएका छन् । संघमा दर्ता भएर बुटवल उपमहानगरपालिका वडा नं १० योगीकुटीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर खाली गराउन लागिएको हो । २०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ मार्फत् देशका विभिन्न ठाउँमा व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो ।
शिव शिखरले बुटवल उपहामहनगर–१०, योगीकुटीमा रकम जम्मा गर्ने काउन्टरसँगै डिपार्टमेन्टल स्टोर्स पनि सञ्चालन गरेको थियो । घरधनी इश्वर मल्लले प्रक्रिया पुर्याएर डिपार्टमेन्टल स्टोर खाली गराउन अनुरोध गर्दा समेत खाली नगराएपछि प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधिको राहवरमा डिपार्टमेन्टल स्टोर खाली गराउन लागेका हुन् । आज बिहान १० बजेदेखि डिपार्टमेन्टल स्टोर खाली गराउने काम भैरहेको छ ।यो सहकारी २०७८ साउनमा बुटवल आएको थियो । हाल सहकारीको काउन्टर र डिपार्टमेन्टल स्टोर्स दुबै तीन महिनादेखि बन्द थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले घरधनीले प्रकृया पुराएर नगरपालिकामार्फत खाली गराएको र प्रहरीले सुरक्षाका हिसाबले सहयोग गरेको बताए ।बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५–१६ जना वचतकर्ताले वचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक नभएको र कानुन नभएकाले खोज्न पनि नमिल्ने बताएका छन् ।
लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारीको दर्ता संघमा भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताएका छन् ।शिवशिखर सहकारीले बचतकर्ताको १४ अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको आरोपमा त्यसका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन् बुटवलमा संघ तथा प्रदेशमा दर्ता रहेका १ दजर्न भन्दा बढी सहकारी संकटग्रस्त भएकाले यहाँका अन्य सहकारीलाई समेत समस्यामा पारेको उर्वर बचत तथा ऋण सहकारीका अध्यक्ष उमेश कुँवर बताएका छन् ।
बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख गुणाखर खनालका अनुसार पनि यही दर्ता भएर बुटवलमै कार्यक्षेत्र भएका सहकारीमा समस्या नआएको तर प्रदेश तथा संघमा दर्ता रहेका सहकारीमा समस्या आउँदा यहाँका वचतकर्तामा अन्यौलता बढेको बताएका छन् ।