Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति, साढे ५ लाख युवाहरु विदेश गए


फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति, साढे ५ लाख युवाहरु विदेश गए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१—८२ को ८ महिना (साउन–फागुन)मा झन्डै साढे ५ लाख युवाहरु विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन् । योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ ।

यो संख्या गत आव २०८०—८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो । अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो । नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै विदेशिने गरेका छन् । प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ । यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई)रहेको छ ।

विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ स य१७ जनाले श्रम स्वीकृति लिएका छन् । योसँगै ८ महिनामा यूएईका लागि कुल १ लाख ७३ हजार २ सय ५० जनाले श्रम स्वीकृति लिएका छन् । यस वर्ष विदेशिएका कुल युवामध्ये यूएई गएको संख्या ३२.४१ प्रतिशत छ । यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ ।

यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ । गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ । यस वर्ष फागुनमा जम्मा ३ हजार ७ सय १५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ । जापानमा १ हजार ९ सय ६६ र कोरियामा १ हजार ८ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन् ।