एजेन्सी । पछिल्लो दुई दशकमा सुखद भविष्य खोज्दै मुलुक छाड्ने भारतीयको संख्या ह्वात्तै बढिरहेको छ । सन् २०११ यता भारतीय नागरिकता त्याग्नेको संख्या १७ लाख ५० हजार रहेको विदेशमन्त्री एस जयशंकरले बताएका छन् । शुक्रबार विदेशमन्त्री जयशंकरले लोकसभामा लिखित जवाफ दिँदै यस वर्षको जुनसम्मै भारतीय नागरिकता त्याग्नेको संख्या ८७ हजार २६ रहेको जानकारी दिएका हुन् ।
विदेशमन्त्री जयशंकरका अनुसार अघिल्लो वर्ष अर्थात २०२२ मा भारतीय नागरिकता त्याग्नेको संख्या २ लाख २५ हजार ६ सय २० थियो । सन् २०२१ मा भने यो संख्या १ लाख ६३ हजार ३ सय ७० थियो । सन् २०११ भारत छाड्नेको संख्या १ लाख २२ हजार ८ सय १९ थियो । विदेशमन्त्री जयशंकरले लोकसभामा जवाफ दिँदै भने, पछिल्लो दुई दशकमा ठूलो संख्यामा भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा जागिर खोजिरहेका छन् । व्यक्तिगत लाभका लागि धेरै भारतीयले विदेशी नागरिकता लिएका छन् ।
भारतीय डायस्पोरा भारतका लागि ठूलो सम्पत्ति भएको पनि विदेशमन्त्री जयशंकरको भनाइ छ । विदेशमन्त्री जयशंकरले गत वर्ष राज्यसभामा जवाफ दिने क्रममा भारतीयले यसबीचमा विभिन्न १३५ देशको नागरिकता लिएको बताएका थिए । तर उनले कुन-कुन देशको कतिले नागरिकता लिए भन्नेचाहिँ खुलाएका थिएनन् ।