काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई निश्चित समयका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो। कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि र त्यसका मुख्य व्यक्ति छिरिङ लामा डोङ र पम्बर लामालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ।
मकवानपुरको हटिया—१ ठेगाना रहेको एस।एम कन्स्ट्रक्सन र त्यसका मुख्य व्यक्ति सहदेव गौतमलाई १ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ। लमजुङको मध्यनेपाल नगरपालिका—४ स्थित राना फर्निचर सःमिल उद्योग र त्यसका मुख्य व्यक्ति सुकु राना मगरलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै सल्यानको शारदा नगरपालिका—८ ठेगाना रहेको गौरीगोमा निर्माण सेवा र त्यसका मुख्य व्यक्ति तुफान सिंह बुढाथोकीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। कार्यालयले कालोसूचीमा राखिएको अबधीभर ती निर्माण कम्पनी र आपूर्तिकर्ता कुनै पनि खरिद कारबाहीका भाग लिन नसक्ने जनाएको छ।