काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए का संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायतका अभियन्ताहरूले संघमा अहिले देखिएको असहज अवस्थालाई अन्त्य गर्न सहकार्यका लागि आह्वान गरेका छन्। बद्री केसी नेतृत्वको गैर आवासीय नेपाली संघद्वारा मंगलबार राति आयोजित भर्चुअल बृहत् संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरूबिच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गरे।
उनले सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गरे। उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई वैधानिक कुरा मात्रै नहेरेर छातीमा हात राखेर काम गर्न आग्रह गरे । उनले वास्तविक एकताको महाधिवेशनमा मात्रै आफू सहभागी हुने बताउँदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैँ साथ हुने बताए ।
एनआरएनएका पूर्व अध्यक्ष जीबा लामिछानेले गत हप्ता परराष्ट्र मन्त्री डा आरजु देउवाले समन्वयकारी भूमिका खेलेको बताउँदै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिन सुझाव दिए । नेपालमा शान्ति प्रक्रिया ल्याइयो। संसद् पुनर्स्थापना गर्ने भन्ने कहीँ पनि लेखिएको थिएन , द्वन्द्वरत पक्षलाई संसदमा राख्ने कुरा लेखेको थिएन।
एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले विवेक नगुमाउन सबैलाई आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा मात्रै नअल्झिन आग्रह गरे।