काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ ।
स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी तीन सय वटा क्याम्पसमा नेतृत्व छान्न चुनाव भएको हो । अधिकांश क्याम्पसमा मतदान सकिएलगत्तै गणना गरिएको छ । नतिजाको पूर्ण सूची सार्वजनिक हुन बाँकी छ ।
त्रिविले आंगिक क्याम्पसको मात्रै सार्वजनिक गर्छ । केही क्याम्पसमा भने चुनाव रोकिएको छ । निर्वाचन समितिले रोकिएका र स्थगित भएका क्याम्पसमा मतदानको लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।
ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू भएपछि रोकियो । पाटन संयुक्त क्याम्पस परिसरमा झडप हुँदा केही विद्यार्थीसमेत घाइते भएका छन् । काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पस आरआर, त्रिचन्द्र र अमृत साइन्स कलेज अस्कलमा पनि अन्तिम समयमा मतदान अवरुद्ध बनेको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा आज चुनाव हुँदैछ । त्यस्तै काठमाण्डौको पद्मकन्या क्याम्पसमा भोलि र त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा पर्सि चुनाव गर्ने तयारी छ ।
त्यस्तै शंकरदेव, सरस्वती, पब्लिक युथ, नेपाल ल, विश्वभाषा क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । काठमाण्डौ उपत्यकाबाहिरका कतिपय क्याम्पसमा पनि हिजो मतदान हुन सकेन ।