काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी पति विनोद चौधरीले बजेटले निजी क्षेत्रमा उत्साह भर्न नसकेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै चौधरीले करको दायरा बढाउनेतर्फ बजेट केन्द्रित भएको, पहिलेदेखि नै संघर्ष गरिरहेका उद्योग, ब्यापार, पर्यटन क्षेत्रमा घुमाउरो शीर्षक अन्तर्गत थपिएका करहरुले अर्थतन्त्रको विस्तारमा सहयोग नपुग्ने टिप्पणी गरे ।
निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रको विस्तार हुन सक्छ तर अहिले निजी क्षेत्र उत्साहित देखिएको छैन उनले भने अर्थतन्त्रको बृहत्तर विस्तारबाट नै राजश्वको आकारलाई पनि बढाउन सकिन्छ । नेपाल यसै पनि दक्षिण एसियामा सबैभन्दा उच्च कर जीडीपीको २४ प्रतिशत भएको मुलुक हो । बजेटले यो पटक नयाँ दिशा लिन सक्ने अपेक्षा गरिए पनि यस अनुसारको बन्न नसकेको उनले बताएका छन् ।
उनले भने किसानले खेतीका लागि रासायनिक मल खोज्दा पनि नपाउने अवस्था रहेको भन्दै उनले किसानलाई मागअनुसारकै मल पाउने व्यवस्था मिलाउन माग गरे । देशले वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा ब्याजभन्दा हाम्रो विकास बजेटको अंश सानो हुन थाल्नु अर्थतन्त्रका लागि अर्को गम्भीर सूचक रहेको उनको भनाइ छ । अर्थतन्त्रलाई अर्को तहमा पुर्याउन जलविद्युत निर्यात र पर्यटन प्रवर्द्धन नै महत्त्वपूर्ण रहने चौधरीले बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने घोषणा गरेका छन् । अब हामीले सोच्नुपर्छ– के १० वर्षमा भारतलाई १० हजार मेगावाट विद्युत बेच्न सक्ने हैसियतमा पुग्न सकिन छत त्यसका लागि अहिले हामी कुन कुन परियोजनामा काम गर्दैछौं यो दुनियाँमा उत्पादनहरूले बजार खोजिरहेका हुन्छन् तर हामीसँग यस्तो चिज छ जसलाई बजारले खोजिरहेको छ, तर हामीले दिन सकिरहेका छैनौं ।
सन् २०२३ का पाँच महिनामा चार लाख पर्यटक भित्रिएको तथ्य सकारात्मक रहेको औंल्याउँदै उनले छिमेकी मुलुक भारत र चीनसँग हाम्रो कुटनीतिलाई प्रभावकारी बनाउने हो भने आगामी ५ वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन् ।