२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ३० गतेसम्म कुनै पनि राजनीतिक कार्यक्रममा सहभागी नहुने बताएका छन् ।
बुधबार पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन् ।
उनले असार ३० सम्म सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई स्थगित गरेका छन् ।
प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन् । यी दिनमा प्रधानमन्त्री सिंहदरबार पनि नजाने बताइएको छ ।
समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जनाएको छ ।