काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताए । उनले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताए । प्रधानमन्त्रीले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौती समाधान गर्न सहज हुने बताए । उनले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री दाहालले , ‘विद्युतको राम्रो बजारको व्यवस्था गर्नसक्यो भने खर्बौं लगानी नेपालमा आउनसक्छ। त्यसले नेपालको अर्थतन्त्रका समस्या र चुनौती छन्। त्यसको स्थायी र दीर्घकालीन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिने सकिने विश्वासको साथ काम भइरहेको छ।’’ उनले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताए । उनले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको जानकारी दिए । उनले पछिल्लो समय राष्ट्रको हितमा काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको गुनासो समेत गरे ।