Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी ऊर्जा मन्त्रालय लगायतका विभिन्न निकायहरूमा साइबर आक्रमण


अमेरिकी ऊर्जा मन्त्रालय लगायतका विभिन्न निकायहरूमा साइबर आक्रमण

एजेन्सी । अमेरिकी होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टको साइबर सेक्युरिटी तथा इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सीले बिहीबार अमेरिकी ऊर्जा मन्त्रालय लगायतका विभिन्न निकायहरूमा साइबर आक्रमण भएको पुष्टि गरेको छ । सो एजेन्सीका अनुसार रूसी र्‍यान्समवेयर समूहले ऊर्जा मन्त्रालयसहित विभिन्न अमेरिकी संघीय सरकारी एजेन्सीका प्रयोगकर्ता लगायतका डेटामा फाइल ट्रान्स्फर सिस्टम लगायतको दुरूपयोग गरी अनाधिकृत पहुँच बनाएको र त्यसलाई बेच्न खोजेका थिए । एजेन्सीका निर्देशक जेन इस्टर्लीले सो आक्रमण मौकाको फाइदा उठाउने प्रयास भएको र आक्रमणकारीहरूले एकदमै गोप्य वा संवेदनशील तथ्यांकमा भने पहुँच बनाउन नसकेको दाबी गरेका छन् ।

ुयो आक्रमणका बारेमा हाम्रो ध्यानाकर्षण भएको छ तर यो सोलर विन्डजस्तो हाम्रो सिस्टममै क्षति पुर्‍याउनेगरी गम्भीर पक्कै होइन,ु इस्टर्लीले पत्रकारहरूसँग भनेका छन् । उनले इ‌ंगित गरेको सोलरविन्ड नाम सन् २०२० को डिसेम्बरमा रूसी ह्याकरहरूले अमेरिकाको रक्षा मन्त्रालय, विदेश मन्त्रालय, गृह मन्त्रालय, गुप्तचर निकाय, परमाणु प्रयोगशाला, फर्चुन ५०० कम्पनीहरू लगायतको वेबसाइट र डेटामा आक्रमण गरेर सिस्टममै क्षति पुर्‍याइदिएको घटना हो ।

अमेरिकाको ऊर्जा मन्त्रालयले पनि आफ्ना दुई युनिटको तथ्यांकहरूमा तोडमोडको प्रयास भएको जनाएको छ । यसबारे अमेरिकी संसद लगायतका निकायहरूलाई जानकारी पनि दिइसकिएको मन्त्रालयले अमेरिकी सञ्चार माध्यमलाई बताएको छ । इस्टर्लीका अनुसार क्लप भनिने सो रूसी र्‍यान्समवेयर कम्पनीले मुभइट नामक फाइल ट्रान्सफर सिस्टममा रहेको कमजोरीको फाइदा उठाउँदै आक्रमण गरेका थिए । यसअघि यही महिनाको सुरूमा अमेरिकाको इलिनोइ राज्य, क्यानडाको नोभा स्कोटिया, बेलायतको लन्डनका विभिन्न कार्यालयले पनि यस्तै प्रकृतिको आक्रमण प्रयास भएको उल्लेख गरेका थिए । बेलायती समाचार संस्था बीबीसी, ब्रिटिस एयरवेयज, अमेरिकी विश्वविद्यालयहरू जोन हप्किन्स र जर्जिया स्टेटसँगै युरोपको प्रमुख ग्यास तथा तेल कम्पनी शेलले पनि आफ्ना विभिन्न वेब र डेटा सिस्टममा आक्रमण र तोडमोडको प्रयास भएको जनाएका छन् ।