काठमाडौं, ३ साउन । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको (२०७९/८०) को जेठ मसान्तसम्म ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ बढी नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । बैंकहरुको नाफा एक महिनामै १७.५९ प्रतिशत अर्थात् १० अर्ब ५ करोड ८८ लाख रुपैयाँले बढेको छ ।
वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अगाडी रहेको छ । यसले ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।
यता कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआइ बैंकले २ अर्ब बढी नाफा गरेका छन् ।
लक्ष्मी सनराइज बैंक, माछापुछ्रे बैंक, सिटिजन्स बैंक, सनराइज बैंक र कृषि विकास बैंकको नाफा १ अर्बमाथि छ ।
६ वटा बैंकले कमाए ३ अर्ब माथि नाफा
समिक्षा अवधिमा आधा दर्जन बैंकहरुको नाफा ३ अर्ब माथि देखिएको छ ।
राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले ३ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यसैगरि स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ११ करोड ३९ लाख, नेपाल बैंकले ३ अर्ब ७ करोड ६२ लाख, एभरेष्ट बैंकले ३ अर्ब ६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका छन् ।