२८ असार, काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसदका दुवै सदनबाट पारित भएको छ । आज भएको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो । सङ्घीय संसदका दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ ।
सङ्घीय संसदका दुवै सदनबाट बजेट पारित