काठमाडौं । रावा इनर्जी पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धकका अनुसार प्रभु क्यापिटल कमलादीमा अपराह्न ४ बजे सेयर बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको बाँडफाँडमा ६४ हजार ३६६ जनाले आईपीओ हात पारेका छन् । मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट आईपीओ बाँडफाँड भएको हो ।
निर्देशिका बमोजिम ६४ हजार ३६६ आवेदकलाई १० कित्ताका दर ६ लाख ४३ हजार ६६० कित्ता सेयर बाँडफाँड गरिएको हो कम्पनीले जेठ १८ देखि २२ गतेसम्म ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले रावाको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।
कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गर्ने भएको छ ।