Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सहकारीको जग्गा हिनामिना गरेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर


सहकारीको जग्गा हिनामिना गरेको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, श्रावण २६ । सहकारीको जग्गा हिनामिना गरेको भन्दै भोटाहिटीस्थित साझा भण्डार सहकारीका तत्कालीन अध्यक्ष जयकुमार खड्कालगायत ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । खड्कासँगै सहकारीका तत्कालीन सञ्चालक समिति सदस्य आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्यसचिव तथा महाप्रबन्धक अमर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको ०–२–० क्षेत्रफलको जग्गा र बाँकेको कोहलपुर–३ क मा रहेको ०–२–१७ क्षेत्रफलको जग्गा अनुचित लाभ लिएको उजुरीमा अनुसन्धान गर्दा दोषी देखिएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले बताएको छ ।

उनीहरूविरुद्ध अत्यन्त कम मूल्यमा जग्गा बेचेर संस्थालाई ४ करोड ४ लाख २४ हजार रुपैयाँ नोक्सानी पुर्‍याएको भन्दै सोही बराबरको बिगो, कैद र जरिवाना माग गर्दै मुद्दा चलाइएको हो ।साझा सहकारी सञ्चालक समितिका तत्कालीन सदस्य योगेन्द्रनाथ कर्माचार्यले साझा भण्डार सहकारीका नाममा रहेको बाँकेको कोहलपुर–३ क को ०–२–१७ क्षेत्रफलको जग्गा बिनाआधार र कारण हचुवामा अत्यन्त कम मूल्यमा बिक्री गर्ने निर्णय गरी संस्थालाई ४ करोड ९४ हजार नोक्सानी पुर्‍याएको बताइएको छ ।

यसैगरी साझा भण्डार सहकारीका नाममा रहेको कोहलपुर–३ क कै ०–२–१७ क्षेत्रफलको जग्गा बोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्य राखी बेसरोकारवाला व्यक्तिको नागरिकताको प्रतिलिपि लिई मञ्जुरीबिना बोलपत्रमा नाम मात्रको प्रतिस्पर्धा देखाएर संस्थालाई ४ करोड ९४ हजार नोक्सानी पुर्‍याएको भन्दै कोहलपुरका सुरोज गिरीविरुद्ध कैद र जरिवाना माग्दै विशेष अदालतमा मुद्दा चलाइएको हो ।

वीरेन्द्रनगर नगरपालिका–८ मा पर्ने ०–२–० क्षेत्रफलको जग्गा न्यून मूल्यमा बेसरोकारवाला व्यक्तिको नाममा खरिद गरेको भन्दै गीताकुमारी शाहीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । शाहीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ को ०–२–० क्षेत्रफल जग्गा बोलपत्र प्रतिस्पर्धालाई सीमित गर्ने उद्देश्यले न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई ३ लाख ३० हजार रुपैयाँ नोक्सानी पुर्‍याएको पनि आयोगले बताएको छ ।