काठमाडौं, ३२ जेठ । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताए । ३ महिनापछि अवकाश पाउन लागेका शंकरदास बैरागीलाई अन्य कुनै पदमा व्यवस्थापन गर्ने गरी सरकारले अर्याललाई मुख्य सचिव बनाएको हो ।
सचिवहरूमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए । अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए । ०४६ सालमा नासुबाट सेवा प्रवेश गरेका अर्याल ०४९ सालमा शाखा अधिकृत बनेका थिए ।
यसअघि सचिवका रुपमा उनले वित्त आयोग, वाणिज्य मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी सम्हालेका थिए । सहसचिव हुँदा उनले योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेर काम गरे । अर्थशास्त्रमा नर्वेबाट विद्यावारिधि गरेका अर्यालले यसअघि वित्त आयोगमा सचिव भएर काम गर्दा नेपालको संघीय वित्तीय हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निभाएका थिए ।