काठमाडौं । नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् । बैंकले किसानलाई ऋण नदिँदा किसानले चल्ला र दाना किनेर कुखुरा पाल्न सक्ने अवस्था नरहेको उपाध्यक्ष पोखरेल बताए । अहिले व्यावसायिक रूपमा स्थापना गरिएको ठुला फर्मले मात्र कुखुरा पालेको उपाध्यक्ष पोखरेल बताएका छन् ।
उनले सरकारले किसानको मनोबल उच्च बनाउने योजना र कार्यक्रम ल्याउन नसके पोल्ट्री क्षेत्र थप धराशायी बन्ने बताएका छन् । आर्थिक मन्दिलगायतका कारणले नेपालमा कुखुराको मासु उत्पादन र खपत दुवै घटेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले बताए । दैनिक १० लाख केजी कुखुराको मासु उत्पादन हुने गरेको नेपालमा अहिले घटेर दैनिक ६ लाख केजी मात्र उत्पादन हुने गरेको उनको भनाइ छ ।
उनले नेपालमा मासुको उत्पादनसँगै खपत पनि घटेको बताए । नेपालमा कुखुरा पाल्ने ३० हजार किसानमध्ये आधा घटेको उहाँले जानकारी दिनुभयो । नेपाल कुखुरा बजार व्यवसायी सङ्घका अध्यक्ष कृष्णहरि लोहनीले देशभर मासु अभाव रहेको बताएका छन् । चालीस दिनमा दुई किलो देखि दुई किलो पाँच सय ग्रामसम्म हुने कुखुरा अहिले एक किलो पाँच सय ग्राम मात्र हुने गरेको बताए । नेपालमा भारतबाट पनि लुकाइछुपाइ कुखुरा ल्याउने गरिएको छ । अहिले सीमा क्षेत्रमा कडाइ गरिएका कारण पनि त्यसरी ल्याइने कुखुरा नआएको लोहनीले बताए ।
अहिले ब्रोइलर कुखुराको किसानको खोर मूल्य दुई सय ८० देखि तीन सय रहेको छ । बजारमा उपभोक्ताले किन्दा चार सय ८० देखि पाँच सयसम्म पर्ने गरेको छ । काठमाडौँ, पोखरालगायतका बजारमा ब्रोइलर कुखुरा खपत गर्ने चितवनलाई आफ्नै जिल्लाको उत्पादनले पुगिरहेको छैन । यहाँ पनि अन्य जिल्लाबाट कुखुरा ल्याउन थालिएको छ ।
भरतपुरको सिनर्जी मिट सप्लायर्सका सञ्चालक सुमन जोशी १ महिना देखि कुखुराको अभाव भए पनि पछिल्लो १ सातदेखि झन् धेरै अभाव भएको बताए । उनले ब्रोइलर कुखुरा नपाउँदा आफूले बिहान पसल खोलेर बेलुका बन्द गर्नुपरेको बताए। उनले गर्मीको समयमा उत्पादन कम, कुखुराको वजन कम र मृत्युदर बढी हुने गरेको बताए। नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी अण्डा अभाव नभए पनि उत्पादनमा भने कमी आएको बताए ।
उनले लेयर्स कुखुरा पाल्ने धेरै किसान विस्थापित भएको जनाउँदै राज्यले ठोस नीति ल्याउन नसके अझै धेरै किसानका व्यवसाय बन्द हुने बताए ।