काठमाडौं । ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । सरकारले ३० अर्ब ८६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् सूचना जारी गरेको बताएको हो। जसमध्ये २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ । भने बाँकी ७ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।
यसमध्ये मंगलबार ट्रेजरी बिल जारी वितरण गरिनेछ । यसअघि सरकारले पटक पटक ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक ऋणपत्रलगायत औजारमार्फत आन्तरिक ऋण संकलन गरिरहेको छ । सोही क्रममा यस पटक ट्रेजरी बिलमार्फत पौने ३१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । पछिल्लो पटकको बोलकबोलमा ८.१४ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ ।
बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी ८.४३ प्रतिशत र सबैभन्दा कम ६.०९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । सरकारले चालू आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर त्रैमासिक रुपमा आन्तरिक ऋण उठाइरहेको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासदेखि मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ ।